सिमकोट । जिल्लाका स्थानीय तह र विषयगत कार्यालयमा प्राप्त रकम सकेसम्म अनेकन शिर्षकमा खर्च गर्ने प्रवृति थप मौलाएको बेला हुँलाको खार्पुनाथ गाउँपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँडको रकम बचाएर गाउँपालिकाको आन्तरिक आम्दानी बढाएको छ ।
गाउँपालिकाका जनप्रतिनिधिको सेवा र सुविधामा खर्च गर्ने भनिएको उक्त रकम बचाएर खार्पुनाथले जनप्रतिनिधिले पनि मितव्ययिता अपनाउँछन् भन्ने संकेत दिएको छ । आफूहरु (जनप्रतिनिधि) ले लिने सेवा र सुविधामा मितव्ययिता अपनाएर गाउँपालिकाले यस वर्ष राजश्व शिर्षकको आठ लाख ८४ हजार १७३ रकम बचाएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।
‘हामीले अनावश्यक खर्च र बाँडफाँडमा नियन्त्रण गरेका कारण यो वर्ष राजश्व शिर्षकको उक्त रकम गाउँपालिकाको आम्दानीका रुपमा बचत गरेका छौं’ अध्यक्ष रावलले नेपालवोटसँग भने, ‘आर्थिक वर्षको अन्तमा फ्रीज नजाउने उक्त रकमलाई नयाँ आर्थिक वर्षमा अत्यावश्यक काममा लागनउे गरेर आम्दानीका रुपमा बचाएर राखेका हौं ।’
गाउँपालिकालाई प्राप्त बजेटमार्फत जनप्रतिनिधिहरुको सेवा र सुविधा, अनुगमन खर्च र पालिकामा कार्यरत कर्मचारीको तलब भत्ता लगायत केही विकासे काममा समेत विनियोजन गरेर पनि बाँकी रहेको बजेटलाई आफूले बचाएर राखेको गाउँपालिका लेखा अधिकृत विशाल बोहराले जानकारी दिए ।
गएको आर्थिक वर्ष ०७७/०७८ मा संघीय सरकारबाट ५ करोड ६५ लाख ३९ लाख २६१ र कर्णाली प्रदेश सरकारबाट २ लाख २० हजार रकम बजेट राजस्व बाँडफाँडमा बिनियोजित भएकोमा चार करोड सात लाख ६८ हजार ९९२ बजेट मात्र निकासा आएको बताएका लेखा अधिकृत बोहराले त्यसबाट पनि पालिकाले आठ लाख ८४ हजार १७३ रकम बचाएर आन्तरिक आम्दानी गरेको जानकारी दिए ।