काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र वर्तमान सरकारका बारेमा अनेक प्रकारका भ्रम छर्दै त्यस (सरकार) विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा आग्रह गरेका छन् ।
वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको भन्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । आफुहरु समृद्धिका लागि अघि बढिरहेको तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको पनि उहाँले बताए ।
घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायात लगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे