काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत तोकेको छ ।
समीक्षाका लागि पाँच दिन भित्र सूचना संकलन गर्न बैठकले सचिवालयका ७ जना नेतालाई प्रदेशगत जिम्मेवारी समेत दिएको छ। तुलाधरका अनुसार प्रदेश १ का लागि जयन्ती राई, मधेश प्रदेशका लागि रामचन्द्र झा, बागमती प्रदेशका लागि गंगालाल तुलाधर, गण्डकी प्रदेशका निम्ति प्रमेश हमाल, लुम्बिनी प्रदेशका लागि विजय पौडेल, कर्णाली प्रदेशका लागि प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका निम्ति बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनप्रति आफूहरु बेहद असन्तुष्ट रहेको बताए । ‘हामी अलिक हैन, बेहद असन्तुष्ट छौं,’ खनालले भने, ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक रुपले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो हामीले पाँच दलभित्र पनि राखेका छौं । हामी आफैंले पनि समीक्षा गर्दैछौं ।’ सचिवालयको बैठक भोलि ११ बजे पुनः बस्ने छ।