सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ भएको छ ।
हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए ।
दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय पनि प्रभावित भएको छ ।
दिनमा तीन पटक लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था आएको छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।
त्यसैगरी चर्को लोडसेडिङले एसइई तयारी गरिरहेका विद्यार्थीलाई निकै समस्या बनाएको छ । जेठमा हुने एसइई परिक्षाको तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।
कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीहरुमा लोडसेडिङका कारण निरासा छाएको छ ।