काठमाडौं । संघीय राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पनि बर्ड फ्लु पुष्टि भएको छ ।
किसानले पालेको हाँसको पिसिआर विधिबाट गरिएको नमुना परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन त्यस क्षेत्रका एक हजार ४ सय ६३ वटा पन्छी, २६ वटा अण्डा र ८ सय किलो दानासमेत नष्ट गरिएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।
सञ्चारकर्मी डा. ढकालले रोग देखा परेको क्षेत्रमा पूर्ण निसङ्क्रमण समेत गरिसकिएको बताउनुभयो । तारकेश्वर नगरपालिकाकै वडा नम्बर ७ साङ्लेखोला फुटुङमा यहि माघ १६ गते बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा सघन निगरानी भइरहेको अवस्थामा अर्को ठाउँमा बर्ड फ्लु पुष्टि भएको हो ।