काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक विवरण अनुसार नेपालको तराईसहित सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्याा बढेको छ ।
सात प्रदेश मध्ये मधेश, बागमती, गण्डकी लगायत प्रदेशमा बस्नेको सङ्ख्या धेरै देखिएको छ । सुविधा उपयोगको प्रतिस्पर्धाले गाउँ छाड्नेको सङ्ख्या बढिरहेको हो । व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार केही राम्रो लागेपछि जनकपुर बस्न थालेको धनुषाको औरही गाउँपालिकाका श्याम साहले बताए ।
वैदेशिक रोजगारीका कारण उठेको आर्थिकस्तर र एसईईसम्मको पढाइ सहरमै राम्रो हुन्छ भन्ने बुझाइका कारण पनि गाउँ रित्तिने अवस्था आएको हो । तीन तहको सरकार बनेपछि बसाइँसराइ पनि बढेको एक जना विज्ञ डा. लक्ष्मण सिं कुँवर बताउँछन् ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँमा २० लाखभन्दा धेरै छ । औषधोपचारको सुविधा, गरिबी लगायत समस्याका कारण पनि सहरमा स्थायी बसोबास गर्ने बढेको अर्थविद अनलराज भट्टराईले बताउनुभयो । शिक्षा, स्वास्थ्य सहित २२ वटा अधिकार स्थानीय सरकारले पाएका छन् । त्यसैअनुसार सुविधा गाउँमा पनि बढ्छ भन्ने अपेक्षा नागरिकमा थियो ।
स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपनि उचित उपयोग नगर्दा ५ वर्षको अवधिमा बसाइँसराई रोक्ने गरि काम नभएको स्थानीय तहका विज्ञ डा. खिमलाल देवकोटाले जानकारी दिए । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार मुस्ताङ, डोल्पा, रसुवा र हुम्लामा सबैभन्दा कम जनसङ्ख्या छ ।
भौगोलिक विकटता, आधारभूत आवश्यकता पूर्तिमा समस्या लगायत कारण पनि बसाइँसराइ भइरहेको निष्कर्ष स्थानीय तहहरूको छ । यसलाई रोक्न योजना बनाएर कार्यान्वयनमा ल्याएको जनप्रतिनिधिले दावी गरे पनि त्यसले नागरिकलाई भने छुन सकेको छैन ।