काठमाडौं । पश्चिमी वायुको प्रभाव कम भएसँगै मौसम सफा हुँदै गएको छ ।
गत हप्ता देशका धेरै ठाउँमा पूर्ण रुपमा बदली गराएको प्रणाली कमजोर हुँदै गएकाले मौसम खुल्दै गएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार देशका धेरै ठाउँमा आजभन्दा भोलि मौसम सफा हुनेछ । आज दिउँसो प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । यस्तै शनिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।